आठौं पर्वतीय खेलकूद महोत्सव फागुन २० गतेबाट

पोखरा । आठौं पर्वतीय खेलकूद महोत्सव आगामी फागुन २० गतेदेखी संचालन हुने भएको छ । नेपाल पर्वतीय खेलकुद संघले सोमबार एक पत्रकार सम्मेलन गरी आठौं पर्वतीय खेलकूद महोत्सव फागुनबाट हुने जानकारी गराएको हो ।

संघले आठौं सस्करणको माउन्टेन स्पोर्टस फेस्टिभल गण्डकी प्रदेशमा आयोजना हुने जनाएको छ । यसका लागी गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्ग,आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गसँग समन्वय भएको र प्रदेश सरकार पनि आठौं सस्करणको माउन्टेन स्पोर्टस फेस्टिभल आयोजना गर्नेमा सकारात्मक देखीएको बताइएको छ ।

सन् २०१३ मा गठन भएको संघले प्रत्येक वर्ष पर्वतिय महोत्सव संचालन गर्दै आएको छ । यस संघमा १५ वटा विभिन्न राष्ट्रिय खेल संघ र केही इभेन्टहरु आवद्ध छन् ।

प्रतियोगिता आयोजनाका लागि सम्वन्धित खेल संघका प्रतिनिधी सहित १७ सदस्यीय व्यवस्थापन समिती गठन गरिएको छ । सो अन्तर्गत माउन्टेन स्पोर्टस फेडेरेशनका प्रदेश संयोजक समेत रहेका गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट सहितको ६ सदस्यीय सचिवलायको कार्यदल गठन भएको छ । सदस्यमा लक्की क्षेत्री, वसन्त दवाडी, केशव पाठक, दिपक बहादुर गोदार र प्रतिमा गैरे रहेका छन् ।

प्रतियोगितामा ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ अन्तर्गत परम्परागत आर्चरी, ठेलो, क्यानोनिङ्ग, रक क्लाइम्बिङ्ग,साइक्लिङ्ग, प्याराग्लाइडिङ्ग, क्रस कन्ट्रि रनिङ्ग, मोटर स्पोर्टस, टग अफ वार, रिङ्ग रेस्लिङ्ग, घोडा दौड, ट्रायथलन, गल्फ, स्केट वोर्डिङ्ग लगायतका १५ खेलमा प्रतिस्पर्धा हुनेछन् ।

प्रतियोसिगता सम्पन्न गर्न १ करोड ८८ लाख अनुमानित खर्च हुने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, स्थानिय सरकार र प्रायोजक संस्थाहरुको लगानी रहने नेपाल पर्वतीय खेलकुद संघमा अध्यक्ष गोविन्द भट्टराईले जानकारी दिए ।

महोत्सव पोखरामा फागुन २० गतेदेखि चैत २० गतेसम्म संचलन हुनेछ ।