खेलकुद सचिव नेपाललाई राखेपको स्वागत

खेलकुद सचिव नेपाललाई राखेपको स्वागत

उपराष्ट्रपति कार्यालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा हुनु भएका सचिव हरिप्रसाद नेपाललाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शुक्रबार एक कार्यक्रमबीच स्वागत गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको दशरथ समिक्षालयमा आयोजित कार्यक्रममा राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्य–सचिव युवराज लामालगायतका पदाधिकारीले सचिव नेपाललाई खादा तथा पुष्पगुच्छा प्रदान गरी स्वागत गर्नुभएको थियो ।
सोही अवसरमा राखेपले युवा तथा खेलकुद मन्त्रालयबाट भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा सरुवा हुनु भएका सचिव सुशील घिमिरेलाई पनि बिदाइ ग¥यो । त्यस अवसरमा सदस्य–सचिव लामाले घिमिरेलाई मायाको चिनो स्वरुप राखेपको लोगो अंकित फ्रेम प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले आगमी दिनमा नव नियुक्त सचिवले नेपाली खेलकुदको विकासमा कुनै कसर बाँकी नराख्ने विश्वास ब्यक्त गर्नुभयो ।
राखेप सदस्य–सचिव युवराज लामाले राखेप र मन्त्रालयबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ बनाउने उद्देश्यले बिदाइ तथा स्वागत कार्यक्रमको पहिलो पटक थालनी गरेको बताउनुभयो ।
सदस्य–सचिव लामाले सचिव घिमिरेले आफ्नो कार्यकालमा राखेपले अघि सारेको खेलकुद विकासका कार्यक्रमलाई मन्त्रालयले ‘हाइवे’ को भूमिका निर्वाह गर्दै सकारात्मक रुपमा लिएको चर्चा गर्दै सचिव नेपालको कार्यकालमा पनि सहकार्य गर्दै अघि बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सचिव नेपालले आफूले युवा तथा खेलकुद मन्त्रालयमा आएर हजारौं युवा तथा खेलाडीहरुलाई सहयोग गर्दै राष्ट्रको सेवा गर्ने अवसर पाएको खुसि व्यक्त गर्नुभयो । उहाँले राखेप र मन्त्रालय दुवैले एक अर्काको अस्तित्व स्वीकार गरेर आगमी दिनमा सहकार्य गरी अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।
सचिव सुशिल घिमिरेले आफुले भूमिसुधारबाट पनि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई सकेको सहयोग निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खेलकुद मन्त्रालयमा रहँदा काम गर्ने वातावरण सहज भएको अनुभव सुनाउदै खेलकुदका नाममा रहेका जग्गालाई व्यसायिकरण गरी राखेपले आम्दानी आर्जन गर्ने बाटो बनाउनु पर्ने सुझाव दिनुभयो ।