पर्यटन दिवसको अवसरमा सस्टेनेबल स्पोर्ट्स टुरिजम सम्बन्धी अन्तर्राष्ट्रिय कन्फ्रेन्स सम्पन्न

 

काठमाडौं – विश्व पर्यटन दिवसको उपलक्ष्यमा गत  २६  सेप्टेम्बरका दिन अनलाइन एप जुममार्फत Sustainable Sports & Tourism for Prosperous Nepal विषयक अन्तर्राष्ट्रिय कन्फ्रेन्स आयोजना भएको छ ।

नेचर, एड्भेन्चर र कल्चरसँग सम्बन्धित खेलकुद मार्फत सस्टेनेबल टुरिजमको वकालत गर्दै आएको पर्वतीय खेलकुद महासंघ नेपालको संयोजन र नासा फाउन्डेसन नेपालको व्यवस्थापनमा सो कन्फ्रेन्स आयोजना भएको हो ।

महासंघका अध्यक्ष गोविन्द भट्टराईले स्वागत मन्तब्यका साथ शुरु गरेको कार्यक्रमलाई मुख्य अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सम्बोधन गरेका थिए भने मोडरेटरको रुपमा पर्यटन बोर्डका पूर्व सिइओ दिपक राज जोशी थिए ।

त्यस्तै कार्यक्रममा वक्ताको रुपमा सस्टेनेबल टुरिजम बिज्ञ न्युजिल्यान्डका लिसा चोग्याल, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका अलेक्जेन्ड भी. कामेल (अष्ट्रिया), वर्ल्ड इथ्नोस्पोर्ट सोसाइटीका डा. एलेक्सी काइलासोभ (लाटभिया), इन्टरनेसनल क्याचबल फेडरेसनका सीईओ हिला डाभिडोभ (इजरायल), इन्टरनेसनल कोलिजन अफ टुरिजम पार्टनरसिपका जुर्गेन स्टेनमट्ज (अमेरिका) का साथै नेपालका पर्यटन बिज्ञ राज ज्ञवाली, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा टुरिजम एकेडेमिसियन विनय शाक्यले वक्ताको रुपमा दिगो खेलकुद तथा पर्यटन प्रवद्र्धनका विषयमा आआफ्नो कार्यपत्र तथा धारणा प्रस्तुत गरेका थिए ।

कुल ६० बढीको सहभागिता रहेको सो कार्यक्रममा प्रस्तोताहरुले कोभिड—१९ र कोभिड—१९ पछिको पर्यटन, साहसिक र खेल पर्यटन, पर्यटनका नयाँ प्रोडक्टहरु तथा सम्वृद्ध नेपालका लागि सस्टेनेबल टुरिजम जस्ता विषयमा प्रस्तुति गरे भने महासंघका महासचिव संजिव पाण्डेले निष्कर्षका साथ कार्यक्रमको समापन गरेका थिए ।

नेचर, एडभेन्चर र कल्चरको लागि विश्वमै प्रसिद्ध नेपालले त्यसबाट अपेक्षाकृत फाइदा लिन नसकेको र कोभिड—१९ को प्रहारले नेपालको पर्यटन उद्यम नै तहसनहसको अवस्थामा खेल पर्यटनले सहयोग गर्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।