इक्वेस्ट्रियनमा लामा निर्विरोध

नेपाल इक्वेस्ट्रियन संघको अध्यक्षमा युवराज लामा निर्विरोध निर्वाचित भएका छन् । संघको शुक्रबार सम्पन्न प्रथम साधारणसभाले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव समेत रहेका लामाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत निर्विरोध चयन गर्‍यो ।
उपाध्यक्षमा नवराज सिलवाल (वरिष्ठ), ओलम्पियन दीपक विष्ट र राजीव शाह, महासचिवमा बलराम श्रेष्ठ, सचिवमा प्रकाशचन्द्र घिमिरे, कोषाध्यक्षमा रमेशमान मल्ल तथा सह–कोषाध्यक्षमा मोहम्मद फाजिल रहेका छन् ।
दिवस गुरागाईं, रोशनबहादुर श्रेष्ठ, करण चौधरी, सरोज मिश्र, दावा तामाङ, लोकजङ लामा, ज्ञानबहादुर गुरुङ र प्रेम मोक्तान सदस्यमा चयन भए ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको साधारणसभामा ५ जिल्ला काठमाडौं, भक्तपुर, रसुवा, मनाङ र कास्की, दुई क्लब तथा केन्द्रका गरी कूल २६ प्रतिनिधि सहभागी थिए ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका सदस्य एवं नेपाल बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठले पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरे । नवनिर्वाचित पदाधिकारीहरुलाई संघ संस्था समन्वय शाखा प्रमुख टेकप्रसाद कट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष तिम्सिनाले इक्वेस्ट्रियन ओलम्पिकसंग आबद्ध भएकाले यो खेल महत्वपूर्ण भएको बताउदै यो खेलले अहिले नयाा तरंग ल्याएको बताए ।
साधारणसभाको युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सो अवसरमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका सदस्य रामजीबहादुर श्रेष्ठले शुभकामना मन्तब्य दिएका थिए ।

चार मनोनित
शुक्रबारै बसेको संघको बैठकले २ उपाध्यक्ष र २ सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । उपाध्यक्षमा अक्कलबहादुर बम र नेपाली सेनाका प्रतिनिधि पदेन रहेका छन् । सदस्यमा मनोनित हुनेमा कृष्ण सिवाकोटी र नवराज नेपाल छन् । संघको विधानको दफा ३ को उपदफा ४ बमोजिम उनीहरुलाई मनोनयन गरिएको संघले जनाएको छ ।
त्यस्तै सदस्य गुरागाईंलाई प्रवक्त तथा राजेन्द्र नेपाललाई कानूनी सल्लाहकारमा चयन गरिएको छ ।